
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
पीआईडीका अनुसार, काठमाडौं महानगरपालिका–१६ अन्तर्गतका बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकना तथा नागार्जुन नगरपालिकाका वडा नम्बर १ र २ अन्तर्गतका कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी पुर्याउन कार्य अघि बढाइएको हो।
आयोजना प्रमुख टीकाबहादुर चौधरीका अनुसार, काठमाडौं उपत्यकामा सफा र प्रशोधित पानीको आपूर्ति सुधार गर्ने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको हो। उनले भने, ‘मन्त्रीज्यूको निर्देशन अनुसार मेलम्चीको पानी वितरण अभियान सुरु गरिएको छ। यसका लागि बोलपत्र आह्वान गरिएको छ। हाम्रो उद्देश्य नागरिकलाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनु हो।’
वितरण सञ्जाल सुधार योजना अनुसार, रिङ रोडको बालाजु क्षेत्रभित्र करिब ३,८११ मिटर पाइपलाइन विस्तार गरिनेछ। बालाजु ट्याङ्कीबाट प्रशोधित मेलम्ची पानी आपूर्ति गरिनेछ।
यस कार्य सम्पन्न भएसँगै मेलम्ची खानेपानी परियोजना अन्तर्गत दैनिक २७० मिलियन लिटर पानी काठमाडौं उपत्यकाका विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ।
खानेपानी मन्त्रालयका अनुसार, यो प्रक्रिया सुरु भएसँगै काठमाडौंमा विलम्ब भइरहेको पानी वितरणलाई व्यवस्थित बनाइनेछ, जसले उपत्यकाभित्रको पानी सङ्कट न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस योजनाबाट बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्न सक्नेछन्।
तपाईको प्रतिक्रिया