आज विश्व धूमपानरहित दिवस, नेपालमा विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज मे ३१ का दिन नेपालमा पनि विश्व धूमपानरहित दिवस विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने स्वास्थ्य समस्याबारे आमजनमा चेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ।
विश्व स्वास्थ्य सङ्गठन ले केही वर्षअघि गरेको एक सर्वेक्षणअनुसार, नेपालका ७२ प्रतिशत घरमा कम्तीमा एक जना व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ।
त्यस्तै, नेपालमा हरेक वर्ष करिब ३८ हजार जनाको मृत्यु धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण हुने तथ्यांक सार्वजनिक भएको छ।
चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग, गुट्खाजस्ता पदार्थमा पाइने निकोटिन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ। एक खिल्ली चुरोटले व्यक्तिको औसत आयु साढे पाँच मिनेटले घटाउने, एक वर्षमा एक महिना जति जीवन घटाउने, र ५० वर्षे अवधिमा झण्डै चार वर्षको आयु ह्रास गराउने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, धूमपानले क्यान्सरसहितका गम्भीर रोगहरूको जोखिम बढाउँछ। उनका अनुसार, मुखको ९० प्रतिशतभन्दा बढी, र फोक्सो, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छाला, पाठेघर र स्तन क्यान्सरको ८५ प्रतिशतसम्म कारक धूमपान नै हो।
क्यान्सर र अन्य रोगहरूको जोखिमबाट बच्न चिकित्सकहरूले चुरोट र सुर्तीजन्य पदार्थको सेवन तत्काल रोक्न सुझाव दिएका छन्। साथै, विज्ञहरूले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन, कानूनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया