बुधबार २१ जेठ २०८२
राजनीति

कमल थापासहित पाँच जना पक्राउ, राजावादी आन्दोलन चर्किंदै

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

काठमाडौं । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र घोषणा र राष्ट्रियताको संरक्षणको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी समूहले आज पनि काठमाडौंको नारायणचौरबाट विरोध जुलुस सुरु गरेका थिए। प्रदर्शनकारी बालुवाटारतर्फ अघि बढेपछि प्रहरीले तोकेको निषेधित क्षेत्र पार गर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, आन्दोलनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै बालुवाटार प्रवेश गर्ने प्रयास गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको जनाइएको छ।

सरकारले प्रधानमन्त्री, सभामुख, र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूको निवास रहेको बालुवाटार क्षेत्रलाई अघिल्लो साता नै निषेधित क्षेत्र घोषणा गरेको थियो। निषेधित क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, जुलुस वा प्रदर्शन गर्न नपाइने नियम भए पनि प्रदर्शनकारीहरू उक्त क्षेत्र पार गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच भनाभन र सामान्य धक्का-मुक्का भएको देखिएको छ। केही प्रदर्शनकारी घाइते भएका छन् भने सामाजिक सञ्जालमा कमल थापालाई प्रहरीले लछारपछार गर्दै गिरफ्तार गरेको भिडियोसमेत भाइरल भएको छ।

राजावादी समूहले १५ जेठदेखि चरणबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनीहरू संविधान संशोधन गरी राजसंस्था पुनःस्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको माग राखिरहेका छन्।

प्रहरीको बल प्रयोग र नेताहरूको गिरफ्तारीप्रति राप्रपा र अन्य समविचारी समूहहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरिनु सरकारको निरंकुश प्रवृत्तिको परिचायक भएको बताएका छन्।

राजावादी आन्दोलन जारी राख्ने चेतावनी दिँदै, उनीहरूले आगामी दिनहरूमा अझ सशक्त रूपमा सडकमा उत्रिने जनाएका छन्।

तपाईको प्रतिक्रिया