
काठमाडौं। वर्षा र सहकालका देवताका रूपमा पूजनीय रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो देखाउने जात्रा आइतबार ललितपुरको जावलाखेलमा विशेष समारोहका साथ सम्पन्न भएको छ।
चार दिनअघि लगनखेलबाट जावलाखेलसम्म पुर्याइएको मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न भएलगत्तै परम्परानुसार भोटो देखाइएको हो। बहुमूल्य मणि, माणिक, रत्न जडित उक्त भोटो प्रत्येक वर्ष सार्वजनिक रूपमा देखाउने परम्परा रहिआएको छ।
भोटो जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए। उनले भोटोको अवलोकन गर्नुका साथै मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरे। समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश लगायत उच्चपदस्थ व्यक्तिहरूको समेत उपस्थिति थियो।
भोटो जात्रा सम्पन्न भएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी सांस्कृतिक बाजागाजासहित बुङ्मतीस्थित मच्छिन्द्रबहालमा पुनःस्थापन गरिन्छ।
रातो मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा ल्याउने तथा अनिकाल र अनिष्ट टार्ने देवता मानिन्छ। त्यसैले यो जात्राले ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ।
ललितपुरका नेवार समुदायले विशेष श्रद्धा र उल्लासका साथ मनाउने यो जात्रा नेपालका सबैभन्दा पुराना र महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक मानिन्छ।
तपाईको प्रतिक्रिया