
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग रोमाञ्चक रूपमा दुई रनले पराजित भएको छ।
डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३२४ रनको लक्ष्य पछ्याउँदै निर्धारित ५० ओभरमा ३२१ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए। उनले ८५ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। सार्कीले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे। शेखले ५५ बलमा ५ चौकासहित ३९ रन बनाए।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। उनले सोमपाल कामीसँग सातौँ विकेटका लागि १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे। सोमपालले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाए।
बलिङतर्फ, स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए। शफिया शरिफ र माइकल लिस्कले दुई-दुई विकेट हात पार्दा, ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले एक-एक विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र ४ छक्कासहित शानदार १०२ रन बनाए। माइकल लिस्क १२ चौका र ३ छक्का प्रहार गर्दै ६२ बलमा अविजित ९६ रनमा रहे।
चार्ली टियरले ६५ बलमा ९ चौकासहित ६८ रन बनाए भने मार्क वाट अविजित २१ र फिनले म्याकक्रियाथले १७ रनको योगदान दिए।
नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट हात पारे।
तपाईको प्रतिक्रिया