मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तरर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा अहिलेसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२ दशमलव ८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिनुभयो । पश्चिम खण्डतर्फ तीन किलोमिटर एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उहाँले बताउनुभयो । यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उहाँको भनाइ छ ।
२०७८ साल जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद २०८२ साल पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोड रुपैयाँमा पाएको थियो । पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने अन्तिम चरणमा पुगेको छ ।
यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आउँदो २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको हो ।
तपाईको प्रतिक्रिया