शनिबार १२ श्रावण २०८१
अन्तर्वार्ता

कोही भोकै नरहोस् : उमेश बोहोरा (सदस्य हाम्रो टिम नेपाल)

मंगलबार पौष ७, २०७७/ Tuesday 12-22-20

हाल देशमा विकसित नयाँ राजनैतिक घटनाक्रमले सबैको ध्यान त्यतै खिचेको छ। सर्लाहीका उखु किसान आफुले पाउने रकम भुक्तानी नभएपछी काठमाडौं आएर माईतिघर मण्डलाको चिसो सडकमा धर्ना दिन थालेको आज १०औं दिन बिति सकेको छ। सरकार र सरोकारवाला कसैको ध्यान ति किसानतिर गएको खासै देखिदैन। किसानहरु सडकमा अलपत्र अवस्थामा रहेको देखि-देखि देशमा गराइएको पछिल्लो राजनैतिक दुर्घटनाले राज्य-सरकार उनिहरुका माग प्रति कति बेखवर र गैरजिम्मेवार छ भन्ने कुरा प्रष्टै हुन्छ। 

राज्यबाट यति बेवास्तामा परेका गरिव किसानहरुलाई आज १०औं दिनसम्म काठमाडौंमा बस्न, खान, र उनिहरुलाई कुनै स्वास्थ्य देखि अन्य केही समस्या परेपछी कसले हेर्छ भन्ने बारेमा नियमित ३/४ दिनको फ्लोअप पछि ‘हाम्रो टिम नेपाल’ नामको एक सामाजिक संस्था जसले महिनौदेखि कोभिड-१९ को महामारीमा काम नपाएर भोकै बस्न बाध्य मानिसहरुलाई सुरुमा टुँडीखेल र हाल प्रशुति गृह पछाडी नि:शुल्क खाना खुवाईरहेको छ। हो! त्यही  संस्थाले नै आजसम्म यि उखु किसानहरुलाई पनि रेख-देख गरेको रहेछ भन्ने पत्ता लगाई त्यस संस्थाका अभियान्ता अर्थात संस्थापक सदस्य उमेश बोहरासंग गरेको कुराकानी प्रस्तुत छ।

यहाँको परिचय? 

नमस्ते! मेरो नाम उमेश बोहरा, म संस्थापक सदस्य ‘हाम्रो टिम नेपाल’ मेरो घर बैतडी हो। यस संस्थामा आवद्व भएको २०७२ सालको भुकम्प पछिदेखि नै हो। तर हाम्रो यो संस्था दर्ता गरेको करिव १ वर्ष हुन लाग्यो। 

हाम्रो टिम नेपाल भन्ने कस्तो संस्था हो? र के गर्छ बताईदिनुहोस् न? 

हाम्रो टिम नेपाल भन्ने यो संस्था विशुद्व सामाजिक संस्था हो। हामीले यो संस्थामार्फत "भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त राष्ट्र निर्माण" भन्ने मुल नारालाई संस्थागत गर्दै यो संस्थाको स्थापना गरेका हौं। यसमा हामी बिमल पन्थज्युको अध्यक्षतामा २५ जना संस्थापक सदस्यहरु छौं। 

यो संस्था मार्फत हामीले मुख्यत अहिले नि:शुल्क खाना र लत्ताकपडा बितरण नै गरिरहेका छौं। सामाजिक क्षेत्रमा बिगत ४/५ वर्ष देखिनै निरन्तर काम गर्दै आए पनि हामीले संस्थागत रुपमा कोभिड-१९ ले गर्दा २०७६ साल चैत्र ११ गते देखि देशमा पुर्णरुपमा लकडाउन भयो। लकडाउनमा हुनेले त खाने-बस्ने भए, दैनिक ज्याला मजदुरी गरी खानेको अवस्था कस्तो भएको होला भनेर चैत्र १४ गते देखि नै नि:शुल्क खाना बितरण सुरु गरेका हौं। 

यति लामो समय देखि सयौंको संख्यामा मानिसहरुलाई सित्तैमा खाना खुवाई रहनु भएको छ। तपाँईहरुलाई यत्रो खर्च कहाँबाट आउछ? 

सुरुमा त हामीले हाम्रै २५/३० जना सदस्य साथिहरुबाट ४ देखि ५ लाख रुपैयाँ उठाएर यो काम सुरु गरेका हौं। पछि विभिन्न सोसल मिडिया तथा यहाँहरु जस्तै मिडिया मार्फत सबैतिर चर्चा हुन थाले पछी देश तथा विदेशमा रहनु भएका हाम्रा मनकारी नेपाली दाजुभाई तथा दिदिबहीनी, आमा-बुवाहरुले नै हामीलाई सहयोग गर्न थाल्नु भयो। हाल सम्म हामीले त्यसरी नै चलाइरहेका छौं। 

अर्को कुरा कहिले काही कोही अत्यन्त मनकारी दाताहरु आएर आफ्नो जन्मदिन, बिवाहा वर्ष तथा आफ्ना अभिभावकहरुको पुन्यतिथीमा हामी खाना खुवाउछौं अर्थात यहाँहरुले खुवाईदिनु पर्यो, हामी सहयोग गर्छौं भनेर कसैले नगद सहयोग त कसैले दाल, चामल, तरकारी, नुन, तेल फलफुल आदी दिएर सहयोग गर्नुहुन्छ। हाम्रो टिम नेपालको मुख्य आयस्रोत भनेको नै त्यही सहयोग हो।

खाना बाहेक लत्ता कपडा पनि बितरण गर्नुहुदो रहेछ, कपडा कसले, कसरी दिन्छन्? हाम्रो टिम नेपालको सम्पर्क कार्यालय कहाँ छ? 

मुख्य त हाम्रो खाना पकाउने, खाध्यसामाग्री संकलन तथा लत्ताकपडा संकलन गर्नको लागी भनेर अनामनगरमा सम्पर्क कार्यालय रहेको छ। जसरी हामीलाई खाध्यसामाग्री सहयोग गर्नुहुन्छ त्यसरी नै दाताहरुले हामीसंग सम्पर्क गरेर नयाँ तथा पुराना सफा कपडा ल्याएर दिने गर्नुहुन्छ। त्यो हामीले जहाँ आवस्यक छ बुझेर देशका विभिन्न जिल्ला जस्तै: हालसम्म, जुम्ला, हुम्ला, अछाम जस्ता बिकट जिल्लाका गरिब गाउँ-बस्ति तथा चितवनमा रहेको राउटे वस्तिमा पनि बितरण गरिसकेका छौं। 

साथै यस वर्षको बाढी पहिरोमा धेरैले ज्यान गुमाए, मर्नेको त सक्कियो, बाँचेका धेरै मानिसहरु घरबारविहीन भए, उनिहरुको बिचल्ली भयो। त्यसखालका पिडितहरुको घाउमा मलम पट्टी लगाउन हाम्रो टिम नेपाल पुगेको छ। यो वर्ष बिशेष गरि सिन्धुपाल्चोकमा धेरै बाढीपहिरो गयो, त्यस क्षेत्रमा हामी ३/४ पटक पुगेर, म स्वयम र हाम्रो टिमले खाध्यन्न तथा लत्ताकपडा, सिरक-डसना समेत बितरण गरेका थियौं। त्यसै गरि तनहुँमा पनि कपडा तथा खाध्यन्न बितरण गरिसकेका छौं। 

अहिले भर्खरै पनि यहाँले यि उखु किसानहरुलाई चिया र बिष्कुट बितरण गर्दै हुनुहुन्थ्यो? मैले यहाँहरुलाई फ्लोअप गरेको ३/४ दिन भयो, त्यती मात्र हो की सधैं दिने गर्नु भएको छ? 

एकदमै मुख्य प्रश्न सोध्नु भयो, धन्यबाद! हामीले दिउँसो निरन्तर चिया खाजा बितरण त गरेका छौं नै, उहाँहरुलाई बस्ने र बेलुका एक टाईमको खानाको व्यवस्था आन्दोलनको सुरुको दिन देखि नै गरेका छौं। कहिले काही कुनै दाता वा संघ-संस्थाले आजको खाना वा खाजा हामी दिन्छौ भन्नुहुन्छ त्यस बाहेक बाँकी सबै हामीले नै व्यहोरिरहेका छौं। जस्तै: आज नै अहिले यहाँले देख्न सक्नुहुने छ। सेन्टजेभियर्स कलेजले आजको खाजामा पुरी तरकारीको ब्यवसस्था हामी गर्छौ भनेको छ। तयारी हुँदै छ, खाजा खाने समय पनि हुँदै छ। ल्याएपछी हामी सबै मिलेर बितरण गर्छौ। 

यसरी निस्वार्थ समाज सेवा गरिरहनुभएको छ, यहाँ र यहाँको (हाम्रो टिम नेपाल) भन्ने संस्थाले, यसमा अन्य केही कठिनाईहरु छन् त? 

अवस्य छन नी! हामीले निस्वार्थ आफ्नै खर्चबाट नि:शुल्क खाना बितरण सुरु गरेका हौं। सुरु-सुरुमा हामीले रासन बितरण गर्दा असली पिडीत तथा गरिब पहिचान गर्न नसक्दा पिडीतहरुका पिर मर्का एक ठाउँमा रहे। त्यो अलावा हामीलाई विभिन्न आरोप पनि लाग्यो जस्तै: मानिसहरुलाई श्रम गर्न नपर्ने अल्छी वा मागी खाने बनायौ भन्ने आरोप, टुँडीखेलमा खाना बितरण गरेर मानिसलाई अस्वस्थ बनायौ, भिडभाड जम्मा गरायौ, कोभिडको जोखिम बढायौ जस्ता थुप्रै आरोप लागेका छन्। 

काठमाडौं महानगरपालिकाले खुल्ला मन्चमा खाना बितरण गरेको राम्रो देखिएन भन्यो, धुलो-धुवाँले स्वास्थ र अन्य कारण देखाई पुन: प्रशुति गृहपछाडी बितरण गर्नु भनी समन्वय गर्यौ र हालसम्म त्यही बितरण गरिरहेका छौं। अन्य केही संघ-संस्था तथा व्याक्तिहरुले नि:शुल्क खाना बितरणको नाममा निष्चित समय नमिलाई बाँड्नाले दिनभरजसो मानिस कामकाज नगरि खानामै ब्यस्त भएर समाज भड्कियो, त्यो आरोप पनि हामीलाई नलागेको होईन। त्यसैले हामीले निष्चित समय तोकेर बिहान र बेलुकाको दुईटाईम खानाको ब्यवस्था गरेका हौं। 

यहाँहरुले खाना त बितरण गर्नुहुन्छ, दाताहरुबाट आउने भएपनि कत्तिको स्वस्थ हुन्छ खाने कुरा? खाना खुवाउनु मात्र ठुलो कुरा भएन त्यो खाने कुराले मानिसहरुको स्वास्थ्यमा केही असर परे के गर्ने? जसको लागी खानाको स्वस्थता निर्क्यौल के कसरी गर्नुहुन्छ?

हो खानामा सत प्रतिसत स्वस्थता नै छ। किनकी हामी पनि त्यही खाना खान्छौं। अर्को कुरा अहिले सम्म हामीले खुवाएको खाने कुराले कोही कसैको स्वास्थमा असर गरेको वा कोही बिरामी परेको भन्ने हामीलाई कम्पिलेन आएको छैन। हामीले खानाको स्वस्थताको प्रमाणीकरणका लागि कुनै स्थाई उपाय नअपनाए पनि सकेसम्म खानाको हाईजेनिकतामा ध्यान दिएकै छौं। ताजा-ताजा तरकारीहरु ल्याएर पकाउछौं दाल-चामल पनि सफा र राम्रो नै हुन्छ। 

यहाँको मिडिया मार्फत एउटा महत्वपुर्ण कुरा भन्न चहान्छु। हामीले हाम्रो टिम नेपाल मार्फत भोकालाई भोजन, नाङ्गालाई कपडा र असाहायलाई सहाराको काम पक्कै गरेका छौं भन्ने लाग्छ। किनकी कतिपय मानीस जसलाई हामीले दैनिक खाना खुवाउथ्यौं उनिहरुलाई काम खोजेर काम गर्न लगाउने, कतिपय असाहायको परिवारको खोजि गरी परिवारको जिम्मा लगाई उनिहरुलाई भावनात्मक र पारिवारीक मेलमिलाप गराउने जस्ता अत्यन्तै सकरात्मक काम गरेका छौं र वर्षौदेखि परिवारबाट जान-अन्जानमा बिछोडिएर टाढा हुन पुगेकाहरुलाई पुनरमिलन गराउदा साँच्चिकै हामीलाई आनन्द पनि आएको छ। 

यस्तै-यस्तै कुराहरुले म लगायत हाम्रो टिमलाई अझैं यसै गरि निस्वार्थ ढङ्गले सामाजिक क्षेत्रमा काम गर्न प्रेरणा मिलेको छ। 

यति राम्रो पुन्यको काम गर्नुभएको छ यहाँ र यहाँहरुको संस्था ‘हाम्रो टिम नेपाल' ले! यहाँहरुलाई देश दैनिक र मेरो तर्फबाट विशेष धन्यबाद। अन्त्यमा यहाँहरुलाई सहयोग गर्नुहुने सम्पुर्णलाई र सहयोग गर्न चहानेहरुलाई केही भन्नु छ? 

आजसम्म जतिपनि दाताहरुले मन र हृर्दय ठुलो पारी सहयोग गर्नुभएको छ, उहाँहरु कोही देशमा हुनुहुन्छ होला, कोही बिदेशमा जो जहाँ भएपनि सबैलाई हाम्रो टिमको तर्फबाट धन्यबाद भन्न चहान्छु। यहाँहरु जस्ता मनका धनि ब्याक्तिहरुबिना हाम्रो अभियान कल्पना सम्म पनि गर्न सकिन्न र हजुरहरुको सहयोगबिना ति भोका पेटहरु भरिन सम्भव पनि छैन। त्यसैले यदि कसैले मेरो यो अन्तरवार्ता पढेर सहयो गर्न चहानुभयो भने मेरो फोन नंबर ९८४१६६९१७० मा सिधै उमेश बोहरा भनेर फोन गर्न र नगद सहयोग गर्ने ईच्छा भएमा ग्लोबल आईएमइ बैंकमा H.T. Foundation Nepal को नाममा खाता नंबर ३९०१०१००००६९३ रहेको छ त्यसमा सिधै रकम जम्मा गरि हामीलाई सहयोग गर्न सक्नुहुने छ। सम्पुर्णमा धन्यबाद! यहाँलाई र यहाँको देश दैनिकलाई पनि बिशेष धन्यबाद!

फोटो फिचर:

तपाईको प्रतिक्रिया