आइतबार २३ बैशाख २०८१
समाज

लुम्बिनी विकासको गुरुयोजना पूरा हुन अझै साढे सात अर्ब रूपैयाँ बजेट लाग्ने

शनिबार कार्तिक १३, २०७८/ Saturday 10-30-21

बुटवल।  लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए ।

लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गुरुयोजना पूरा हुने आशा पलाएको हो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै साढे सात अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

लुम्बिनी विकास कोषले अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरेसँगै अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् ।

लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । यसका लागि तीन अर्ब ५० करोड लाग्नेछ ।

गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबको दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठआठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया