शनिबार १२ श्रावण २०८१
बिजनेस

सगरमाथा आरोहण सुरू

शनिबार बैशाख ३०, २०८०/ Saturday 05-13-23

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ।

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।

प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन्। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन्। 

'सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे,' कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले राससलाई जानकारी दिए।

अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ। 'इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ। भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुचुरोमा पुग्नेछन्,' उनले भने। 

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइडसमेत हुन्। रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन्। 

'प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए। आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ,' उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन्। उनीहरू मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन्।

तपाईको प्रतिक्रिया