गौशालास्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण, घटनास्थलमा पेस्तोल पनि फेला

काठमाडौं । काठमाडौंको गौशालामा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्।
घाइते हुनेमा कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेन छन्। दुई जना व्यक्ति आएर उनीमाथि धारिलो हतियार प्रहार गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गौशालाको पिके डाइग्नोस्टिकमा सञ्चालक साजन हुसेनका भाइ साविर हुसेनमाथि चक्कु प्रहार भएको एक प्रहरी अधिकारीले बताए।
घटनास्थलबाट पेस्तोल र धारिलो हतियार बरामद भएको ती प्रहरीले बताए।
‘गोली नचलेर चक्कुले हिर्काएको हो कि भन्ने आशंका छ’, उनले भने।
घाइतेलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो। थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
विदेशबाट आएका व्यक्तिले हुसेनमाथि धारिलो हतियार प्रयोग गरेका प्रहरीले जनाएको छ।
उनीमाथि के कारणले प्रहार गरियो यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया