शनिबार ५ जेठ २०८१
बिजनेस

निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24

काठमाडौं । राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ। 

राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।  

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

यो घटना मर्जर अघि लक्ष्मी बैंक हुँदा भएको हो। यो कर्जा स्वीकृत गरेका सिइओलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ। 

पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण गर्दा प्राइम बैंकको सिइओलाई नसिहत दिनुका साथै सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ। 

कुमारी बैंकलाई समेत पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै राष्ट्र बैंकले बैंकका सिइओ तथा सञ्चालकलाई सचेत गराएको छ। 

कुमारी बैंकले 'बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन'को व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो। यो रकम असुल गरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ। 

तपाईको प्रतिक्रिया