शनिबार १२ श्रावण २०८१
समाज

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24

काठमाडौं । सरकारले यही असार ७ गते ‘विश्व योग दिवस’ मनाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने आदर्श वाक्यका साथ सरकारीस्तरमै विश्व योग दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ । विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

योग ध्यानसँग सम्बन्धित संस्थालाई योग ध्यानका कार्यक्रम सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको हो ।

असार ७ गते हुने मूल कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा एसओएस स्कुल सानोठिमी भक्तपुरको प्रांगणमा र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ । मूल समारोहमा उपस्थित हुन नेपालस्थित कूटनैतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया