शनिबार ८ असार २०८१
बिजनेस

नेपालमा लगानीको वातावरण बन्दै गएको छ: अध्यक्ष ढकाल

बिहीबार जेठ ३१, २०८१/ Thursday 06-13-24

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका हुन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी सो सम्मेलनमा नेपालका रोजगारदाताहरुको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति सम्वेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा पनि जोड दिए ।

सो सम्बोधनमा उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भारतसँग १० हजार मेगावाट बिद्युत खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे ।

त्यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाई थियो ।

अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा लाभका क्षेत्र रहेको विश्वका लगानीकर्ताहरुलाई बताए ।

लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीहरुलाई जानकारी गराए ।

सो सम्बोधनमा अध्यक्ष ढकालले अन्तराष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० र रोजगारदाताहरुको अन्तराष्ट्रिय सङ्गठन (आइओइ)का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया