आइतबार २३ भदौ २०८१
बिजनेस

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

शुक्रबार असार २८, २०८१/ Friday 07-12-24

काठमाडौं । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत यस्तो योजना ल्याएको हो । 

बैंकले यस योजनाअन्तर्गत सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । 

बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर समेत ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटीएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एनबैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ । 

साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने बैंकले जनाएको छ । कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधार दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ ।

कार्यक्रम नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रूपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रूपमा समेत सबै नेपालीको बैंक बन्न सफल भएको बताए । 

उनले बैंकहरूले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभइ दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताए । उनले बैंकहरू जिम्मेवार भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएकोमा जोड दिए । 

ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने बताए । 

तपाईको प्रतिक्रिया