शुक्रबार २ कार्तिक २०८१
समाज

सन्दीपविरुद्ध पुनरावेदन नगरिदिन गौशाला-२६ को आग्रह

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् ।

उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले 'आफूमाथि बलात्कार नभएको' बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । उनले संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरेको जानकारी दिए । 

उनले हस्तलिखित निवेदन उच्च सरकारी वकिल कार्यालयमा पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउँदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको  पूर्णपाठ  साउन ४ गते  सार्वजनिक भएको थियो ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो  ।

तपाईको प्रतिक्रिया