भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु
हनोई । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३ देखि ४७ वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो ।
विपद् अधिकारीहरुले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।
देशको उत्तरी भागहरूमा केही दिनदेखीको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सात जनाको मृत्यु भएको छ ।
गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तिमा १० जना कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् । रासस/एएफपी
तपाईको प्रतिक्रिया