आइतबार २७ असोज २०८१
राजनीति

प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : भोलि नै संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गरौं

बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन भनेका हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन्। नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ।

यसअघि नै न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ।

न्यायपरिषदले न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको छ।

संवैधानिक परिषदले अरू तीन वटा पदमा सिफारिस गर्नुपर्नेछ। निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया