काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ ।
उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलास बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। विश्वविद्यालयमा शुक्रबार स्ववियुको निर्वाचन हुने तय थियो।
विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरुको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए ।
निवेदकको नाम निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा समावेश नभएको भन्दै उच्च अदालत सुर्खेतले निवेदकको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई असोज ६ गते छलफलका लागि बोलाएको छ।
यसअघि पनि २०७९ चैतमा तोकिएको स्ववियु निर्वाचन उच्च अदालतमा रिट परेपछि स्थगित भएको थियो। मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन ६ वर्षदेखि निस्क्रिय रहेको छ।
तपाईको प्रतिक्रिया