शनिबार १२ असोज २०८१
समाज

पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध, यातायात ठप्प

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24

दाङ।  दुई दिनदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा दाङको तुलसीपुरदेखि सल्यान र दाङको घोराहीदेखि रोल्पा जोड्न सडक खण्डहरू अवरुद्ध बनेका छन् । 

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ। 

त्यस्तै ठाउँठाउँमा साना ठूला पहिरो झरेका कारण सडक खण्ड अवरूद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए। 

सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले भत्किएको प्रहरीले जानकारी दिएको छ। 

तुलसीपुर—घोराही सडक खण्ड अन्तर्गत पुल बनिरहेको सर्रा पश्चिमको सेवार खोलामा बाढीका कारण जल सतह बढेकाले वैकल्पिक बाटाबाट सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ। 

त्यस्तै दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक मार्ग पनि पहिरोको कारण अवरुद्ध भएको छ।

दाङ–प्यूठान सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध हुन पुगेको छ। दाङको भालुवाङदेखि–प्यूठान जाने सडकखण्डमा पनि ठाउँ—ठाउँमा पहिरो झरेको छ। पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ९ च्याउखोलामा पहिरोका कारण खसेका ठूला ढुंगाहरू यात्रु मिलेर आफैले पन्छाएर यातायात सञ्चालन गरेका छन्। 

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रहरी अधिकारीका अनुसार गुल्मी–पाल्पा, गोरुसिंगे–सन्धिखर्क, गोरुसिंगे– अर्घाखाँची, बुटवल– पाल्पा सडक खण्ड पनि अवरुद्ध भएको छ। ठाउँ ठाउँका सडक खण्डमा पहिरो पन्छाउन जेसिबीहरू प्रयोग गरिएको अधिकारीहरुले बताएका छन्।

 

लुम्बिनीका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहेको तथा लेदो माटो झर्ने क्रम नरोकिएको हुँदा सतर्कता अपनाउन प्रहरीले भनेका छन्।

तपाईको प्रतिक्रिया