शनिबार १२ असोज २०८१
समाज

आज दिनभर अविरल वर्षाको सम्भावना : भोलि बिहानदेखि मौसममा सुधार हुने

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24

काठमाण्डौ । देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ ।

अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन ।

 

 

तपाईको प्रतिक्रिया