शनिबार १२ असोज २०८१
समाज

बाढीपहिरोले उपत्यकामा मात्रै २१ को मृत्यु

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24

काठमाडौं । बाढीपहिरोले काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँचजना बेपत्ता भएका छन्भने नौ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन्भने दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।

 विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए। यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया