शनिबार १२ असोज २०८१
समाज

सिन्धुपाल्चोकमा भोटेकोशीले सडक र पुल बगाउँदा नेपाल–चीन सडक बिच्छेद

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24

काठमाण्डौ । बाढीपहिरोले सडक र पुल बगाउँदा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल चीन सडक पूर्ण रुपमा बिच्छेद भएको छ । ठाउँठाउँमा सडक बगाउनुको साथै नेपाल चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गतको एउटा पक्कि पुल र एउटा बेलिव्रिज बगेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोटेकोशी खोलामा आएको बाढीले लिबिङमा रहेको पक्कि पुल र लार्चामा रहेको बेलिब्रिज बगेको हो । यस्तै वडा नम्बर ३ र ४ लाई जोड्ने अर्को बेलिब्रिज पनि बगेको उहाँले बताउनुभयो । उहाँका अनुसार तातोपानी नाकातर्फ मानिस हिड्ने बाटो समेत छैन ।

बाढीका कारण खोला छेउका लार्चा, दश किलो, साँघु बजार जोखिममा परेको रहेकोले त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको पनि अध्यक्ष शेर्पाले बताउनुभयो । बाढीका कारण तातोपानीको सुख्खा बन्दरगाह पनि जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

दशैँको समयमा व्यापारीहरुले तातोपानी नाका हुँदा धेरै सामाग्रि ल्याउने भएकोले यसबेला सडक बिच्छेद हुँदा समस्या हुने देखिएको पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।  
 

तपाईको प्रतिक्रिया