शुक्रबार ९ कार्तिक २०८१
समाज

फेरि सुरू भयो ‘नो हर्न’ अभियान

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका चोकचोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो ।

पछिल्लो केही दिन यता काठमाडौंका चोक-चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ला कार्ड’ सहित ट्राफिक प्रहरी खटिएका छन्।

उनीहरूले सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेका छन्।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो। 

‘नो हर्न’ लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामूलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरी हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो। 

सुरूवाती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केही वृद्धि भए पछि अहिले ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो।

काठमाडौं उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनहरूबाट निस्किने धुँवासँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआइजी बोहराले बताए।

गत आ.व.०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। यस वर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया