सोमबार १७ मङ्सिर २०८१
बिजनेस

कतार एयरवेजले मंगलबारदेखि भैरहवामा दैनिक उडान गर्ने

सोमबार कार्तिक २६, २०८१/ Monday 11-11-24

काठमाडौँ । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ। कतार एअरवेजले भोलि (मंगबार) देखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँका लागि उड्नेछ । यही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । आउँदो मंसिर १५ गतेसम्मको लागि कतारले पेस गरेको उडान तालिका क्यानले स्वीकृत गरेको छ । कतारले यसअघि त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएकोमा स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि कतारका दैनिक दुई वटा उडान भइरहेका छन् ।

भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । 

तपाईको प्रतिक्रिया