शनिबार ८ मङ्सिर २०८१
अर्थ

कात्तिकमा बढ्यो अन्तर्राष्ट्रिय व्यापार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

शुक्रबार मङ्सिर ७, २०८१/ Friday 11-22-24

काठमाडौं ।  कात्तिक महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार बढेको छ। असोज महिनासम्म समग्र आयात ४ प्रतिशतले गिरावट भएकोमा कात्तिक मसान्तमा आइपुग्दा ०.१७ प्रतिशतले बढेको छ।

त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।

कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो ।

चार महिनामा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ । यो अघिल्लो आवको तुलनामा ०.२६ प्रतिशत कम हो । अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष चार महिनाको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ । निर्यात सामान्य बढ्दा हिस्सासमेत सुधार भएको छ । गत आवको तुलनामा निर्यात हिस्सा ३.६२ प्रतिशतले बढेको हो ।

तपाईको प्रतिक्रिया