शनिबार ८ मङ्सिर २०८१
राजनीति

कांग्रेसले फेरि भन्यो– बीआरआई ऋण सहायता लिन सकिँदैन

शुक्रबार मङ्सिर ७, २०८१/ Friday 11-22-24

काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने ठहर गरेको हो ।

सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने पार्टीको धारणा रहेको उनले बताए ।

शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता महतले चीनसँग सो परियोजनामा आफू परराष्ट्रमन्त्री हुँदा सम्झौता भएको स्मरण गराउँदै त्यसमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव आफूहरुको रहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया