शनिबार ८ मङ्सिर २०८१
राजनीति

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ: ओली

शुक्रबार मङ्सिर ७, २०८१/ Friday 11-22-24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।

‘हल्ला चलाइरहेका छन्, आज मंसिर ७ गते एमाले सरकारमा पनि छ। एमाले सरकारमा भएर पनि सभा सञ्चालन गरिरहेको छ। अलिक अगाडिसम्म केहो कसो भन्ने भन्ने परेको पनि हुनसक्छ,’ उनले भने, ‘सरकार बन्दै बन्दैन। बन्यो। विश्वासको मत पाउँदै पाउँदैन। पायो। यो महिना कट्दै कट्दैन। कट्यो। दसैं देख्दै देख्दैन। दसैं देख्यो होइन मनायो पनि। त्यतिमात्र होइन तिहार कट्दैकट्दैन। त्यो पनि देख्यो। कात्तिक कट्दैन। त्यो पनि कट्यो। मंसिर टेक्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन् फेब्रुअरीको। फेबु्रअरी होइन, फेब्रुअरी भनेको माघ–फागुनको कुरा हो। म भन्न चाहन्छु। २०८४ साल  मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ–म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लगाउँछु। उहाँले फेरि १८ महिना चलाउनुहुन्छ।’

उनले कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि मुलुकको अवस्था हेरेर सहकार्य भएको बताए।

तपाईको प्रतिक्रिया