शनिबार २ चैत २०८१
खेलकुद

वुमन्स डे कप : हङकङमाथि नेपालको ६ विकेटको जित

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले लिग चरणका छ मध्ये दुई खेलमा जति निकाल्दा चार खेलमा पराजित भयो।

हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतो २० रनमा अविजित रहँदा इन्दु बर्माले १८ रन बनाइन् । हङकङका मेहक दिप र लाइ विनले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो ।

हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन् । त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । पुजा महतो र ईश्‍वरी विष्टले १-१ विकेट लिए ।

समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने पनि निश्चित भइसकेको छ ।

नेपालको ६ खेलमा ४ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको दोस्रो खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ ।

शीर्ष २ टोलीले फाइनल खेल्दा समूहमा तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया