
समाजको अगुवा व्यक्ति चाहे राजनीतिक नेता होस्, शिक्षक होस्, कर्मचारी, पुजारी वा बुद्धिजीवी, उनीहरूले सही मार्गमा अगाडि बढ्न सक्नुपर्छ। हाम्रो गाउँ समाजमा सुनेका कथा, किवंदन्तीहरू प्रायः यही भन्छन् कि जसले निष्कलंक रूपमा, निस्वार्थ भावले समाजको सेवा गर्छ, उसको सात पुस्तासम्म राम्रो हुन्छ। तर जसले आफ्नो स्वार्थलाई प्राथमिकता दिन्छ, अरूलाई आफ्नो चाकरी गर्न बाध्य पार्छ, जनतालाई रैती सम्झन्छ, त्यस्तो व्यक्तिको एक पुस्तासम्म मात्रै राम्रो भए पनि त्यसपछि उसका पाइलाहरू गिर्दै जान्छन्।
आजको नेतृत्वले आत्मविश्लेषण गर्न जरुरी छ। हामीले के गरिरहेका छौँ? हाम्रो कार्यशैली समाजका लागि हितकर छ कि हानिकारक? हामीले भुल्न नहुने केही महत्वपूर्ण बुँदाहरू छन्, जसले नेतृत्वलाई घमण्डबाट जोगाउन सक्छ।
१. कूटनीति नबुझ्नेहरूलाई अन्जान ठान्नु - अज्ञानताको घमण्ड
नेतृत्वमा बसेका कतिपय व्यक्तिहरू सोच्छन् कि उनीहरूको कूटनीति अरूले बुझ्दैनन्। तर वास्तवमा, जनताले धेरै कुरा बुझ्छन्, उनीहरू निरीक्षक मात्र होइनन्, निर्णायक पनि हुन्। आफ्नो रणनीति अरूले बुझ्दैनन् भन्ने सोच्नु अज्ञानताको घमण्ड मात्र हो।
२. आफूले जे गरे ठीक हो भन्ने सोच्नु - अहंकारको घमण्ड
“म गलत हुनै सक्दिन, अरू नै गलत छन्” भन्ने मानसिकता अहंकारको घमण्ड हो। कुनै पनि नेताले आफ्नो निर्णय पुनः मूल्यांकन गर्न सिक्नुपर्छ। आफ्नो दृष्टिकोणलाई मात्र ठिक मान्नु, आलोचनालाई अस्वीकार गर्नु समाजको लागि घातक हुन सक्छ।
३. “जानी नजानी गरियो, त्यसमा मेरो दोष छैन” भन्ने सोच्नु - उन्मत्तताको घमण्ड
यदि कुनै कार्य जानिबुझी गरिएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ। “मलाई थाहा थिएन” भनेर पन्छिन खोज्नु घमण्ड मात्र होइन, गैरजिम्मेवारीपन पनि हो। साँचो नेतृत्व भनेको आफ्नो निर्णयको जिम्मेवारी लिने क्षमता राख्नु हो।
४. शक्ति र सामर्थ्य नचिन्ने - भूलको घमण्ड
कहिलेकाहीँ शक्ति प्राप्त गरेपछि व्यक्ति आफूलाई अजेय ठान्छ। तर आफ्नो सामर्थ्यको सही आकलन नगर्नु ठूलो भूल हो। आफ्नो सीमा नचिन्ने नेतृत्वले आफैंलाई मात्रै होइन, समाजलाई पनि अप्ठ्यारोमा पार्छ।
५. शक्ति दुरुपयोग गर्नु - रावणको घमण्ड
सत्ता वा शक्ति हात लागेपछि त्यसलाई जनकल्याणका लागि प्रयोग गर्नुपर्छ, व्यक्तिगत लाभका लागि होइन। इतिहासले देखाएको छ— जसले आफ्नो शक्ति दुरुपयोग गर्छ, उसको पतन अवश्य हुन्छ। रावण जस्तो बलशाली भएर पनि अन्ततः विनाशको बाटोमा हिँड्नु पर्दैन।
६. “म जनप्रतिनिधि जितेर राजा बनेको हुँ, जनता रैती हुन्” भन्ने सोच्नु - राक्षसी घमण्ड
जनप्रतिनिधि भनेको जनताको सेवक हो, मालिक होइन। निर्वाचन जितेर नेता भएको व्यक्ति आफूलाई राजा ठान्न थाल्यो भने त्यो घमण्डको पराकाष्ठा हो। यस्तो सोचले लोकतन्त्रलाई कमजोर बनाउँछ।
७. “पाँच वर्ष मेरै हो जे गरेपनि हुन्छ” भन्ने तानाशाही सोच
नेतृत्वले जनताको हितमा दीर्घकालीन योजना बनाउनुपर्छ, क्षणिक फाइदाका लागि निरंकुश शैली अपनाउनु हुँदैन। “अहिले म छँदैछु, जसरी भए पनि मेरो योजना लागु गराउनैपर्छ” भन्ने सोचले समाजलाई द्वन्द्वतर्फ धकेल्छ।
वास्तविक नेता भनेको जनताको भावना बुझ्ने, उनीहरूको सेवा गर्ने, समाजलाई प्रगतिशील दिशामा लैजाने व्यक्ति हो। यदि साँचो नेतृत्व गर्ने हो भने सबैका लागि हितकर कार्य गर्नुपर्छ। नसके कम्तीमा समाजलाई नबिगार्ने संकल्प लिनुपर्छ। युवाहरूलाई उक्साएर, समाजलाई द्वन्द्वमा धकेलेर क्षणिक लाभ उठाउनेहरू इतिहासमा कहिल्यै टिक्दैनन्।
हामीले बुझ्नुपर्ने कुरा के हो भने जनताको सेवा गर्नु भनेको आफ्नो सिढी बनाउनु होइन। जसको काँध चढेर हामी माथि पुगेका छौँ, त्यही काँध कमजोर बनायौँ भने अन्ततः हामी आफैँ तल झर्न बाध्य हुनेछौँ। समाजलाई सही दिशामा लैजान, सही नेतृत्वको खाँचो छ। त्यसैले, नेतृत्व घमण्डको होइन, सेवाको मार्ग अपनाउनुपर्छ।
(लेखक बाजुराको त्रिवेणी नगरपालिका-६ मा अवस्थित मष्टेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्।)
तपाईको प्रतिक्रिया