बिहीबार ४ बैशाख २०८२
राजनीति

कारागार चलान भएपछि लामिछानेको सन्देश : अहिले ममाथि प्रतिशोध साँधियो, पालो सबैको आउँछ

सोमबार चैत २५, २०८१/ Monday 04-07-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीसम्बद्ध नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्चअदालत तुलसीपुर बुटवल इजलासबाट थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरी उनलाई हाल भैरहवा कारागार चलान गरिएको छ । 

कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् ।

‘अदालतको आदेशको सम्मान छ । कानुनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’

उनले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सँगै अघि भनेका छन्, ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’

उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् ।

‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।

उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् ।

‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

तपाईको प्रतिक्रिया