काठमाडौंमा आज विभिन्न प्रदर्शन: ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । आज राजधानीका विभिन्न स्थानहरूमा प्रदर्शन हुने भएकाले ट्राफिक प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ठाउँबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम आयोजना गर्न प्रशासनबाट अनुमति लिएको छ। त्यसैगरी, शिक्षकहरू तथा सहकारी र लघुवित्त पीडितहरूले पनि आफ्ना माग राख्दै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।
प्रदर्शनका कारण सवारी आवागमनमा असर नपरोस् भनेर ट्राफिक प्रहरीले आवश्यकताअनुसार डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ।
विशेषगरी बल्खु क्षेत्रमा हुने राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले तीन वटा वैकल्पिक मार्ग तोकेको छ:
- खसीबजार–मकालु–कलङ्की चोक–बाफल
- बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु
- कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना
कार्यक्रममा सहभागीहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था गरिएको छ।
नयाँ बसपार्क र सीतापाइला–बाफल सडक खण्डमा एकतर्फी पार्किङको सुविधा पनि उपलब्ध गराइएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी, नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर–माइतीघर सडकखण्ड क्षेत्रमा प्रदर्शन गर्नेछ भने सहकारी तथा लघुवित्त पीडितहरूले शान्ति बाटिकामा कार्यक्रम गर्ने भएकाले ती क्षेत्रहरूमा पनि ट्राफिक व्यवस्थापनका लागि डाइभर्सन लागू गरिएको छ।
ट्राफिक प्रहरीले ती क्षेत्रमा जानुपर्ने सवारी साधनलाई वैकल्पिक मार्ग अपनाउन पुनः आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया