
काठमाडौं । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ।
वि.सं. २०४६ साल चैत २६ गते ३० वर्षसम्म कायम रहेको पञ्चायती शासन अन्त्य गर्दै नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो। राजा महेन्द्रले वि.सं. २०१७ साल पुस १ गते सुरु गरेको पञ्चायती व्यवस्था वि.सं. २०४६ चैत २६ गते समाप्त भएको हो।
नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चासहित देशव्यापी आन्दोलनमार्फत यो परिवर्तन सम्भव भएको थियो। गणेशमान सिंहको नेतृत्वमा ५० दिनसम्म चलेको जनआन्दोलनले मुलुकमा बहुदलीय शासन प्रणाली पुनःस्थापित गर्यो।
यस जनआन्दोलनको थालनी वि.सं. २०४६ फागुन ७ गतेदेखि भएको हो, जुन दिन वि.सं. २००७ सालको प्रजातन्त्र दिवस पनि पर्छ। अन्ततः तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय प्रणाली पुनःस्थापनाको घोषणा गरेका थिए।
त्यही सम्झनामा प्रत्येक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ। यस वर्ष पनि विभिन्न राजनीतिक दल, संघसंस्थाहरू र नागरिक समाजका तर्फबाट विशेष कार्यक्रमहरू आयोजना गरिँदै छन्।
तपाईको प्रतिक्रिया