
काठमाण्डौ । ब्राजिलका चर्चित पूर्वफुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल भ्रमणमा आउँने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) का आयोजक संस्था नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोसको भ्रमण पक्का भएको जानकारी दिएको हो।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीका अनुसार रोबर्टो कार्लोस आगामी बैशाख ५ गते नेपाल आउने कार्यक्रम तय गरिएको छ। दुई दिने भ्रमणका क्रममा उनी राजधानी काठमाण्डौमा रहनेछन्।
कार्लोस एनएसएलको पहिलो क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा उपस्थित हुनेछन्। उक्त खेल बैशाख ६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छ। आयोजकका अनुसार कार्लोसको आगमनले नेपाली फुटबल र एनएसएल दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर मिल्ने विश्वास गरिएको छ।
रोबर्टो कार्लोस ब्राजिलका लागि विश्वकप जितिसकेका पूर्व डिफेन्डर हुन् र उनी आफ्नो शक्तिशाली फ्रिकिकका लागि विशेष चर्चित छन्। उनको आगमनले नेपाली फुटबलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ।
तपाईको प्रतिक्रिया