शनिबार १३ बैशाख २०८२
शिक्षा

शिक्षकको आन्दोलनले राजधानीको सवारी अस्तव्यस्त, सरकार मौन

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा जारी सडक आन्दोलन तीन साता पुगेको छ। शिक्षकहरूको छाता संस्था महासंघमा १५ घटकको प्रतिनिधित्व छ। शिक्षकहरूको निरन्तर आन्दोलनले राजधानीका सडकहरू अस्तव्यस्त छन्। शिक्षा क्षेत्रमा देखिएको असन्तोष र सरकारी बेवास्ताविरुद्ध चुलिएको आन्दोलनले काठमाडौंको जनजीवन प्रभावित बनाएको छ।

कोटेश्वरमा दैनिक जाममा अल्झिने महेश पाण्डे भन्छन्, “सडकमा हिँड्नै नसक्ने भयो। शिक्षकहरूको माग जायज होला, तर आम जनताले यस्तो सास्ती भोग्नु ठीक होइन।”

शिक्षकहरूले आफ्ना ५ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन थालेका छन्। उनीहरू बर्खास्त शिक्षकको पुनर्बहाली, शिक्षक सेवा सुरक्षाको ग्यारेन्टी, राजनैतिक हस्तक्षेपविहीन सरुवा प्रणाली, तलब भत्ता वृद्धि, र निजामती सेवाको जस्तो सेवा संरचना लागू गर्न सरकारसँग माग गरिरहेका छन्।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर, चावहिल, कोटेश्वर, कलंकी, लगायतका मुख्य सडकमा र्‍याली र प्रदर्शन जारी हुँदा बिहानदेखि बेलुकीसम्म सवारी चाप बढेको छ, एम्बुलेन्स र आपतकालीन सेवासमेत प्रभावित बनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई सम्बोधन गर्न असहयोग गरेको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। यसले सरकारले शिक्षकको समस्यामा गम्भीर ध्यान नदिएको भनी व्यापक आलोचना निम्त्याएको छ।

तपाईको प्रतिक्रिया