शनिबार १३ बैशाख २०८२
समाज

मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू

शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25

काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको जानकारी गराउँदै उनले वार्तामा नजाने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, “आज मिति ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौ ।” 

यसअघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी थिइन् । 

“भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,” उनले भनेकी थिइन्, “शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।”

मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावलीमा असहमति जनाउँदै महासंघका प्रतिनिधि मन्त्रालय प्रवेश नगरी फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया