शनिबार १३ बैशाख २०८२
बिजनेस

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

काठमाडौं । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म बैंकको कोष लागत ५.०४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६२ प्रतिशत रहेको थियो।

कोष लागत घटेसँगै यसको प्रत्यक्ष सकारात्मक असर बैंकको आधार दरमा परेको छ। चैत्र मसान्तसम्म महालक्ष्मी विकास बैंकको आधार दर ७.१४ प्रतिशत रहेको छ, जुन अधिकांश विकास बैंकहरुभन्दा कम हो। यसले बैंकबाट ऋण लिने ग्राहकहरूलाई कम ब्याजदरमा ऋण प्राप्त गर्न मद्दत पुर्‍याउनेछ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम पुँजी कोषको मापदण्डअनुसार बैंकको पुँजी अवस्था पनि सबल देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष १५.७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको चैत्र मसान्तमा १२.७५ प्रतिशत थियो। पुँजी कोष सबल हुँदा बैंकलाई जोखिम व्यवस्थापन गर्न र आगामी दिनमा व्यवसाय विस्तार गर्न सहज हुने देखिन्छ।

प्रविधिमैत्री सेवाको दिशामा अगाडि बढ्दै, बैंकले हालै “महालक्ष्मी स्मार्ट साथी” नामक मोबाइल अनुप्रयोग सञ्चालनमा ल्याएको छ। बैंकले आगामी दिनहरूमा आफ्ना सेवा प्रणालीलाई अझ प्रविधिनिर्भर बनाउँदै लैजाने जनाएको छ।

बढ्दो प्रतिस्पर्धाबीच महालक्ष्मी विकास बैंकको यस्तो वित्तीय प्रगतिको कदमले ग्राहकको विश्वास जित्न र बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउन मद्दत पुग्ने देखिन्छ।

 

तपाईको प्रतिक्रिया