जलवायु परिवर्तनले हिमालहरू संकटमा: परराष्ट्रमन्त्री राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रहरू गम्भीर संकटमा परेको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवाद को उद्घाटन सत्रमा बोल्दै उनले जलवायु संकटका कारण तीव्र रूपमा पग्लिरहेका हिमनदीहरू नेपालको मौन, तर मूल्यवान सम्पत्ति गुमाउँदै गएको चेतावनी दिइन्।
“हाम्रा हिमनदीहरू, जो स्वस्थ ग्रहका मौन प्रतीक हुन्, तीव्र गतिमा हराउँदै छन्। सहस्राब्दीयौंको समयमा बनेका संरचनाहरू आज हाम्रो आँखामै गायब हुँदै छन्,” मन्त्री राणाले भनिन्।
उनका अनुसार जलवायु परिवर्तनले विशेषगरी पहाडी क्षेत्रका समुदायहरूलाई अस्तित्वको संकटमा धकेलेको छ। “प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश नेपाल हाल गम्भीर द्विविधामा छ। पछिल्ला वर्षहरूमा बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र डढेलो जस्ता चरम मौसमी घटनाहरूले जनजीवनमा गहिरो असर पारेका छन्,” उनले थपिन्।
हिमालय केवल भौगोलिक सम्पदा नभई सांस्कृतिक, राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको उल्लेख गर्दै, उनले यस क्षेत्रको संरक्षणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच अन्तर्राष्ट्रिय स्तरमा सशक्त सहकार्य आवश्यक रहेको बताइन्।
“हामीले हाम्रा पूर्वजबाट पाएका यो ग्रहलाई पूर्ण र स्वस्थ रूपमा भविष्यका सन्ततिलाई हस्तान्तरण गर्ने दायित्व हाम्रो हो,” मन्त्री राणाले भनिन्।
उनले नेपालले पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन घटाउने र स्थानीय स्तरमा समाधानहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइन्। साथै, सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको पनि उनले उल्लेख गरिन्।
नेपालले अघि सारेको सामुदायिक वन कार्यक्रमले वन संरक्षण र विस्तारमा विश्वभर उदाहरणीय भूमिका खेलेको भन्दै मन्त्री राणाले जलवायु परिवर्तनको असरसँग जुध्न अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त, पूर्वानुमानयोग्य जलवायु वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिइन्। “हाम्रो प्रयास पर्याप्त छैन जबसम्म वैश्विक तापमान वृद्धिका प्रभावहरूका लागि सशक्त सहयोग प्राप्त हुँदैन,” उनले भनिन्।
तपाईको प्रतिक्रिया