बिहीबार २९ जेठ २०८२
बिजनेस

नेपाल राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँको तरलता संकलनको तयारी

बुधबार जेठ १४, २०८२/ Wednesday 05-28-25

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट ८० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता व्यवस्थापन गरिरहेको केन्द्रीय बैंकले बिहीवार २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमा बोलकबोल आह्वान गरेको हो।

बजारमा अत्यधिक तरलता रहेकाले ब्याजदरलाई स्थिर बनाउन राष्ट्र बैंकले काउन्टरपार्टी बैंक तथा वित्तीय संस्थाहरूबाट सो उपकरणमार्फत निक्षेप संकलन गर्दै आएको छ। हालको बोलकबोलमार्फत संकलित रकमको सावाँ र ब्याज ४ असारमा भुक्तानी गरिनेछ।

ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्बसम्मको प्रस्ताव दिन सक्नेछन्। राष्ट्र बैंकले उक्त उपकरण अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने व्यवस्था रहेको जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्म बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भइसकेको छ।

त्यस्तै, ओभरनाइट तरलता सुविधा अन्तर्गत २ अर्ब ७० करोड रुपैयाँ उपयोग भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत ७६६ अर्ब १९ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो।

२०७८ चैतमा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर ३.०० प्रतिशत रहेको थियो भने २०७७ चैतमा यो दर ३.१० प्रतिशत थियो।

 

तपाईको प्रतिक्रिया