गैरआवासीय नेपालीको माग : राज्यले मान्यता दिने नागरिकता व्यवस्था गरियोस्

काठमाडौं । गैरआवासीय नेपालीहरूले राज्यका निकायले मान्यता दिने खालको नेपाली नागरिकता प्रदान गर्न माग गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरआवासीय नेपालीहरू (गान) ले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकमा आफ्ना माग राख्दै, हाल दिइने गैरआवासीय नागरिकता नेपालका विभिन्न निकायहरूले नमान्ने समस्या समाधान गर्न अनुरोध गरेका हुन्।
उनीहरूको भनाइमा हालको गैरआवासीय नागरिकता अंशबण्डा, मालपोत लगायतका कानुनी प्रक्रियामा अमान्य ठहरिन्छ, जसले व्यवहारिक कठिनाइ सिर्जना गरिरहेको छ।
छलफलमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सांसद बन्ने अधिकार नदिईकन अन्य सबै अधिकार प्रयोग गर्न सक्ने खालको नागरिकता दिनुपर्नेमा जोड दिए। उनले नेपालप्रति भावना राख्ने गानहरूलाई वंशका आधारमा अधिकार सुनिश्चित गर्नुपर्ने तर्क गरे।
त्यस्तै, संघकी पूर्वअध्यक्ष रविना थापाले गैरआवासीय नागरिकतालाई मालपोत कार्यालयले समेत नचिन्ने अवस्था रहेको भन्दै वंशको आधारमा दिइएको नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्।
ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतासम्बन्धी कानुन बनाउँदा विभेद अन्त्य गर्न आग्रह गरेका छन्।
समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका विषयमा सरकारको स्पष्ट धारणा विधेयकमा समावेश गरिने प्रतिवद्धता जनाए।
तपाईको प्रतिक्रिया