शनिबार ९ श्रावण २०८३
बिजनेस

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26

काठमाण्डौ ।  गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७ दशमलव २१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा  ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए । 

गएको आर्थिक वर्ष नेपाल आउने पर्यटकमध्ये २५ दशमलव ७६ प्रतिशत अर्थात् तीन लाख ११ हजार ५३१ जना भारतीय नागरिक हुन् । भारतपछि अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ जना पर्यटक नेपाल आएका छन् । 

बोर्डको तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिकमा सबैभन्दा बढी एक लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आएका छन् । यस्तै, चैतमा एक लाख १९ हजार, फागुनमा एक लाख १४ हजार र असोजमा एक लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए । 

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढाएको कारण आउँदो चालु वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा छ । बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउनेतर्फ केन्द्रित हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया