बडादशैँको अवसरमा राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्याको पूजा
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको विधिपूर्वक पूजा–आराधना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसँगै नौ जना कन्यालाई नवदुर्गा भगवतीको प्रतीकका रूपमा पूजा गरेका हुन्।
सनातन हिन्दू परम्पराअनुसार नवरात्रभर देवी दुर्गाका नौ स्वरूपको विशेष पूजा–आराधना गर्ने प्रचलन छ। सोही धार्मिक मान्यताअनुसार शीतलनिवासमा आयोजित विशेष पूजामा नौ कन्याको पाउ धोएर टीका, माला तथा फूल अर्पण गरी विधिपूर्वक पूजा गरिएको हो।
पूजाका क्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले नवकन्याहरूलाई टीका लगाइदिँदै दक्षिणा तथा विभिन्न उपहार सामग्रीसमेत प्रदान गरेका थिए।
हिन्दू धार्मिक मान्यताअनुसार कन्याहरूलाई देवी दुर्गाको स्वरूप मानी पूजा गर्दा सुख, शान्ति, समृद्धि तथा कल्याण प्राप्त हुने विश्वास रहिआएको छ। बडादशैँको नवरात्रमा नवकन्या पूजा गर्ने परम्परालाई विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ लिने गरिन्छ।
तपाईको प्रतिक्रिया