मंगलबार ३ कार्तिक २०८३
बिश्वो

टाइगर श्राफको कारमाथि गोली प्रहार, अमेरिकी ग्याङ्स्टरले लिए जिम्मेवारी : सलमान खानसहित बलिउड कलाकारलाई धम्की

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि भारतको मुम्बईमा भएको गोली प्रहारको जिम्मेवारी अमेरिकामा रहेका भनिएका ग्याङ्स्टर अनिल पण्डितले लिएको दाबी सार्वजनिक भएको छ। घटनापछि सार्वजनिक भएको भनिएको श्रव्य सन्देशमार्फत पण्डितले अभिनेता सलमान खानसहित बलिउडका अन्य कलाकारलाई समेत धम्की दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफको कारलाई लक्षित गरी गोली प्रहार भएको बताइएको छ। आक्रमणमा उनका चालक फिरदौससहित दुई जना घाइते भएका छन्। घटनाका बेला टाइगर भने सुरक्षित रहेको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनापछि सार्वजनिक भएको श्रव्य सन्देशमा अनिल पण्डितले आफ्ना सहयोगी हरमन सन्धुसँग मिलेर आक्रमण गराएको दाबी गरेका छन्। उनले टाइगरलाई यसअघि नै चेतावनी दिइएको तर त्यसलाई बेवास्ता गरेपछि आक्रमण गरिएको बताएका छन्।

उक्त सन्देशमा अभिनेता सलमान खान र उनीसँग काम गर्ने चलचित्रकर्मीलाई समेत निशाना बनाउने धम्की दिइएको छ। सलमान र उनको परिवारले ग्याङ्स्टर लरेन्स बिश्नोई तथा बिश्नोई समुदायसँग माफी नमागे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइएको बताइएको छ।

यद्यपि, सार्वजनिक भएको भनिएको श्रव्य सन्देशको आधिकारिकता तथा गोली प्रहारमा पण्डित र उनका सहयोगीको संलग्नताबारे भारतीय प्रहरीले पुष्टि गरिसकेको छैन।

को हुन् आक्रमणको जिम्मेवारी लिएका अनिल पण्डित ?

भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अनिल पण्डित भारतको हरियाणा राज्यस्थित पानीपतका बासिन्दा हुन्। उनी सन् २०२४ मा अवैध बाटो हुँदै अमेरिका पुगेको दाबी गरिएको छ।

अमेरिका पुगेपछि उनी लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित गतिविधिमा सक्रिय हुन थालेको बताइएको छ। भारतमा रहँदा उनीविरुद्ध कुनै आपराधिक मुद्दा नरहेको भनिए पनि पछिल्लो समय विभिन्न आपराधिक घटनामा उनको नाम जोडिन थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पण्डितले लरेन्स बिश्नोईसँग प्रत्यक्ष सम्पर्क नगरी अमेरिकाबाटै सक्रिय हरिचन्द जाट उर्फ ह्यारी बक्सरमार्फत निर्देशन लिने गरेको दाबीसमेत गरिएको छ। बक्सरमाथि भारतका राजस्थान, पञ्जाब र दिल्लीमा फिरौती असुली, डकैती तथा ज्यान मार्ने उद्योगलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

बलिउड कलाकारमाथि लगातार धम्की र आक्रमण

पछिल्लो समय भारतका चर्चित चलचित्रकर्मी तथा गायकलाई लक्षित गर्दै धम्की दिने र गोली प्रहार गर्ने घटनाले मनोरञ्जन क्षेत्रको सुरक्षामाथि प्रश्न उठाएको छ।

यसअघि गत जुन ११ मा चर्चित पञ्जाबी गायक गुरु रन्धावाको पश्चिम दिल्लीस्थित २४ एचएस फिटनेस जिमबाहिर गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएको उक्त घटनामा मानवीय क्षति नभए पनि घटनास्थलबाट सातवटा खाली कारतुस बरामद गरिएको थियो। घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पछि पक्राउ गरेको बताइएको छ।

त्यस्तै, फेब्रुअरी १ मा चर्चित चलचित्र निर्देशक रोहित शेट्टीको मुम्बईस्थित निवासबाहिर पनि गोली प्रहार भएको थियो। त्यसपछि अभिनेता रणवीर सिंह र सलमान खानका भिनाजु आयुष शर्मासहित अन्य चलचित्रकर्मीले समेत धम्की पाएको विवरण सार्वजनिक भएको थियो।

यी घटनाले भारतीय चलचित्र उद्योगमा सक्रिय कलाकार तथा निर्माताहरूको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

सलमान खान किन छन् बिश्नोई गिरोहको निशानामा ?

अभिनेता सलमान खान र लरेन्स बिश्नोई गिरोहबीचको विवादको जरो करिब दुई दशक पुरानो कालो हरिण सिकार प्रकरणसँग जोडिएको बताइन्छ।

भारतको बिश्नोई समुदायले कालो हरिणलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले पवित्र मान्ने गरेको छ। सलमान खानमाथि लागेको कालो हरिण सिकारसम्बन्धी आरोपलाई लिएर बिश्नोई गिरोहले उनीप्रति लामो समयदेखि आक्रोश व्यक्त गर्दै आएको बताइन्छ।

सन् २०२४ मा सलमानको मुम्बईस्थित निवासबाहिर समेत गोली प्रहार भएको थियो। त्यसयता उनी र उनको परिवारलाई लक्षित गरी पटकपटक धम्की आएको विवरण सार्वजनिक हुँदै आएको छ।

पछिल्लो समय सलमानसँग व्यावसायिक सम्बन्ध राख्ने कलाकार तथा चलचित्रकर्मीलाई समेत धम्की दिइन थालेको दाबीले बलिउडमा सुरक्षा चुनौती थपिएको छ।

यसैबीच, टाइगर श्राफको कारमाथि भएको भनिएको गोली प्रहार र त्यसको जिम्मेवारी लिएको दाबीले भारतीय मनोरञ्जन क्षेत्रमा फेरि आपराधिक गिरोहको गतिविधिबारे चर्चा बढाएको छ।

 

तपाईको प्रतिक्रिया