युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता गर्न पुटिन तयार
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग त्रिपक्षीय शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएका छन्। आगामी नोभेम्बरदेखि वार्ता अघि बढाउने विषयमा सहमति बनेको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
बुधबार रूसको सेन्ट पिटर्सबर्गमा पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तामा शान्ति प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको थियो। युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत भएको यो भेट पुटिन र विटकफबीचको नवौँ व्यक्तिगत भेट हो।
वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रूसको हिरासतमा रहेका अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गरिएको थियो। यसलाई वार्ताको वातावरण सहज बनाउने कदमका रूपमा हेरिएको छ।
यद्यपि, युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य तथा गुप्तचर सहयोगमा आएको परिवर्तनले किएभ र उसका सहयोगीहरूबीच चिन्ता बढाएको छ। रूसको आक्रमणसम्बन्धी गुप्तचर सूचना उपलब्ध गराउने विषयमा अमेरिकाले केही अवस्थामा रोक लगाएको तथा युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको आरोप पनि लाग्दै आएको छ।
क्रेमलिनका अनुसार प्रस्तावित त्रिपक्षीय वार्ता प्राविधिक तहमा हुनेछ। संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा वार्ता हुन सक्ने र नोभेम्बर १० वा त्यसपछि प्रक्रिया सुरु गर्ने सम्भावना रहेको जनाइएको छ। युद्ध अन्त्य भएपछि रूस र युक्रेनको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषय वार्ताको प्रमुख एजेन्डामध्ये एक हुनेछ।
सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षले विभिन्न प्रस्ताव तथा विचार समेटिएका कागजात पुटिनसमक्ष प्रस्तुत गरेको विटकफले बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरले पनि शान्ति प्रक्रियासम्बन्धी धारणा राखेका थिए। उनी टेलिफोनमार्फत उक्त बैठकमा सहभागी भएका थिए।
बैठकमा रूसका विशेष लगानी दूत किरिल दिमित्रिएभ पनि सहभागी थिए। क्रेमलिनका अनुसार रूस र अमेरिकाबीच सम्भावित संयुक्त आर्थिक परियोजनाबारे समेत छलफल भएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्ध अन्त्यका लागि पुटिन र ट्रम्पसँग हुने त्रिपक्षीय बैठकमा महत्त्वपूर्ण विषयमा छलफल गर्न आफू इच्छुक रहेको बताएका छन्। तर, पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुनुअघि दुवै पक्षका सहयोगीहरूले विस्तृत तयारी गर्नुपर्ने क्रेमलिनको धारणा छ।
तपाईको प्रतिक्रिया