आज विजया दशमी : नवदुर्गाको प्रसाद मान्यजनको हातबाट ग्रहण गरिँदै
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैँको मुख्य दिन विजयादशमी आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउन उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। यद्यपि, टीका लगाउन यही साइत नै पर्खिनुपर्ने अनिवार्यता नरहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताएका छन्।
चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने भट्टराईले जानकारी दिएका छन्।
विजयादशमीका अवसरमा दशैँघर तथा शक्तिपीठमा नौ दिनसम्म पूजा आराधना गरिएकी नवदुर्गा भवानीको विधिपूर्वक विसर्जन गरी मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
सामान्यतया नवरात्र नौ दिनसम्म मनाइने र दशौँ दिन विजयादशमी पर्ने भए पनि यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले घटस्थापनाको ११औँ दिनमा विजयादशमी परेको हो।
विजयादशमीका दिन कतिपय स्थानमा एक दिन मात्रै टीका लगाउने चलन छ भने धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा कायम छ। दशैँमा घरका बुबाआमा तथा अन्य मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएपछि मावली, ससुराली तथा अन्य आफन्तकहाँ पुगेर टीका थाप्ने चलन पनि छ।
आशीर्वाद, पारिवारिक भेटघाट र आपसी सद्भावको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ।
तपाईको प्रतिक्रिया