मंगलबार ३ कार्तिक २०८३
खेलकुद

ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा उक्लियो

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानमाथि १० रनको रोमाञ्चक जित निकालेको छ। सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले महत्त्वपूर्ण जित हात पारेको हो।

यो जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोड्दै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको छ।

नेपालले दिएको २८१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो। एक समय जितनजिक देखिएको ओमानलाई नेपाली बलरहरूले अन्तिम समयमा दबाबमा राख्दै पराजित गरेका हुन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रनको उत्कृष्ट पारी खेले। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ तथा देव खनालले ५७ रनको महत्त्वपूर्ण योगदान दिए।

नेपालको इनिङ्स उकास्ने क्रममा कप्तान रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १२० बलमा १३९ रनको शानदार साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो योगफलसम्म पुर्‍याउन निर्णायक भूमिका खेल्यो।

ओमानका बलर शाह फेसलले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए।

जवाफी ब्याटिङमा ओमानले पनि बलियो सुरुवात गरेको थियो। ओमानका जतिन्दर सिंहले ८९ तथा हमाद मिर्जाले ८७ रन बनाउँदै नेपाली बलरहरूलाई दबाबमा राखेका थिए।

दुवैले दोस्रो विकेटका लागि १७४ बलमा १५८ रनको विशाल साझेदारी गर्दै ओमानलाई जिततर्फ अघि बढाएका थिए। तर, टोलीको स्कोर १९० रन पुग्दा दोस्रो विकेट गुमेपछि खेलको अवस्था परिवर्तन भयो।

त्यसपछि नेपाली बलरहरूले खेलमा उत्कृष्ट पुनरागमन गर्दै ओमानका ब्याटरहरूलाई खुलेर रन बनाउन दिएनन्। नियमित अन्तरालमा विकेट गुमाउँदा घरेलु टोली दबाबमा परेको थियो।

ओमानका हस्नैन शाहले अन्तिम समयमा २३ बलमा अविजित ४० रनको आक्रामक पारी खेल्दै टोलीलाई जित दिलाउने प्रयास गरेका थिए। तर, अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले संयमित र प्रभावशाली बलिङ गर्दै ओमानको जितको सम्भावना समाप्त पारे।

ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका दीपेन्द्रले बलिङमा समेत निर्णायक भूमिका निर्वाह गरेपछि नेपालले घरेलु टोलीविरुद्ध १० रनको रोमाञ्चक जित सुनिश्चित गरेको हो।

 

तपाईको प्रतिक्रिया