आइतबार ८ कार्तिक २०८३
खेलकुद

एनपीएलका लागि सजियो त्रिवि मैदान, कात्तिक ९ देखि क्रिकेटको महाकुम्भ

पिचदेखि प्यारापिटसम्म सुधार, एनपीएललाई भव्य बनाउने तयार
शनिबार कार्तिक ७, २०८३/ Saturday 10-24-26

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई भव्य रूपमा सजाइएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि मैदानको तयारी अन्तिम चरणमा पुगेको छ।

यसपटकको प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले क्यानले मैदानको पूर्वाधार सुधारमा विशेष ध्यान दिएको छ। मुख्य पिचको स्तरोन्नति, आउटफिल्ड व्यवस्थापन, प्यारापिट विस्तार, भीआईपी बक्स निर्माण तथा फ्लडलाइट जडानलगायतका काम सम्पन्न गरिएको छ।

त्यस्तै, डिजिटल टिकटिङ र प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ। खेलाडीको सहजताका लागि ड्रेसिङ रुम र डगआउट तथा सञ्चारकर्मीका लागि प्रेस बक्ससमेत व्यवस्थित बनाइएको छ।

यसपटक डीआरएस प्रविधि पनि

एनपीएलको तेस्रो संस्करणमा निर्णय समीक्षा प्रणाली (डीआरएस) लागू हुने भएको छ। यसले खेलका क्रममा अम्पायरका निर्णय पुनरावलोकन गर्न सहयोग गर्नेछ। प्रविधिको प्रयोगले खेलमा निर्णयको शुद्धता बढाउनुका साथै खेलाडी र दर्शकको अनुभवलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्रतियोगिताले मान्यता पाएसँगै एनपीएलको चर्चा थप बढेको छ। यस संस्करणमा फ्रेन्चाइज टोलीहरूले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था रहेको छ।

दर्शकको आकर्षण बढ्दै

एनपीएलका अघिल्ला दुई संस्करणपछि प्रतियोगिताप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यही कारण प्यारापिटमा सिट थप गरिए पनि दर्शकको चाप व्यवस्थापन गर्नु आयोजकका लागि चुनौती बन्ने देखिएको छ।

मैदानको पूर्वाधार सुधार, प्रविधिको प्रयोग र विदेशी खेलाडीको सहभागिताले यस संस्करणलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिता सुरु हुन लागेसँगै कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलको रौनक फर्किने प्रतीक्षामा समर्थकहरू रहेका छन्।

 

तपाईको प्रतिक्रिया