मधेशमा तीन वर्षमा २८ सयभन्दा बढी लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ
धनुषा। मधेश प्रदेशमा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको विशेष अभियानअन्तर्गत पछिल्लो तीन आर्थिक वर्षमा २ हजार ८ सय ११ जना पक्राउ परेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठवटै जिल्लाबाट पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र एक जना विदेशी नागरिक रहेका छन्। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी २ हजार १२१ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन्। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट भित्र्याइने लागूऔषध मधेश हुँदै संघीय राजधानी काठमाडौंसम्म पुग्ने गरेको प्रहरीको भनाइ छ।
पछिल्लो तीन वर्षको अवधिमा प्रहरीले ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम तथा प्रतिबन्धित ट्याब्लेट र इन्जेक्सनसमेत बरामद गरेको जनाएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले पछिल्लो समय युवासँगै बालबालिका र महिलासमेत लागूऔषधको दुर्व्यसनमा फस्न थालेकाले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया