शनिबार ९ श्रावण २०८३
बिश्वो

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते

शनिबार श्रावण ९, २०८३/ Saturday 07-25-26

काठमाडौं । निट प्रश्नपत्र बाहिरिएको आरोप र विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। आन्दोलनको क्रममा आह्वान गरिएको बिहार बन्द का बेला पटना, सीवानलगायत आठ जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

सीवानमा प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै करिब १० राउन्ड गोली चलाएको जनाएको छ। छपरामा प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा आगजनी गरेका छन्।

प्रदर्शनका क्रममा सरकारी भवनमा चढेर पोस्टर च्यात्ने, ब्यारिकेड हटाउने तथा सडक अवरुद्ध गर्ने घटनासमेत भएका छन्। सडकमा ठूलो भीड जम्मा हुँदा एक न्यायाधीशको गाडीसमेत रोकिएको बताइएको छ।

पटनामा आन्दोलनमा सहभागी भएका पूर्वमन्त्री तेजप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीतामढीमा भएको झडपमा एक महिला प्रहरी निरीक्षक (एसआई) सहित १२ जना घाइते भएका छन् भने भागलपुरमा लाठीचार्जपछि केही प्रहरी ज्यान जोगाउन भाग्नुपरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहारबाहेक उत्तर प्रदेशका प्रयागराज, लखनउ, सहारनपुरलगायत विभिन्न सहर तथा मध्यप्रदेशका २० भन्दा बढी स्थानमा पनि प्रदर्शन जारी छ। इन्दौरमा आन्दोलनको निगरानीका लागि ड्रोनसमेत परिचालन गरिएको छ।

 

तपाईको प्रतिक्रिया