सोमबार ११ श्रावण २०८३
बिश्वो

फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित

आइतबार श्रावण १०, २०८३/ Sunday 07-26-26

एजेन्सी । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो सहरतर्फ अघि बढेपछि पश्चिमी क्षेत्रमा रहेका सातवटा सहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूका अनुसार डढेलो अझै नियन्त्रणबाहिर रहेको छ र बोरदोबाट करिब ४० देखि ५० किलोमिटर क्षेत्रसम्म आगो फैलिएको छ। धुवाँ बोरदो सहरसम्म पुगेपछि स्थानीयले हावामा बाक्लो धुवाँको गन्ध महसुस गरेका छन्।

गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गर्नुका साथै झाडी सफा गर्ने र डढेलो फैलिन नदिन अवरोध निर्माण गर्ने काम तीव्र बनाएको छ।

फ्रान्सलाई सहयोग गर्न युरोपेली संघका विभिन्न देशले पनि अग्नि नियन्त्रण उपकरण र जनशक्ति पठाएका छन्। क्रोएसियाले तीनवटा क्यानाडेयर विमान, पोर्चुगलले दुईवटा एयर ट्र्याक्टर विमान तथा चेक गणतन्त्र र स्लोभाकियाले ब्ल्याक हक हेलिकोप्टर पठाएका छन्। रोमानियाले वन डढेलो नियन्त्रण टोली परिचालन गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनका अनुसार ईयूको संयुक्त अग्नि नियन्त्रण संयन्त्रमार्फत फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको छ।

डढेलोको प्रभावका कारण आइतबार हुने तय भएको टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरणसमेत १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ। डढेलो प्रभावित क्षेत्रमा सुरक्षा निकायलाई परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले दूरी घटाइएको हो।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोको अवस्थाबारे छलफल गर्न आपत्कालीन बैठक बोलाएका छन्। सरकारले वर्तमान अवस्थालाई ‘अभूतपूर्व संकट’का रूपमा लिएको छ।

उता, स्पेनमा पनि डढेलोका कारण आपत्काल घोषणा गरिएको छ। म्याड्रिड आसपासका केही क्षेत्रमा मौसममा सुधार आएपछि आगोको तीव्रता केही घटेको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री पेड्रो सान्चेजले कठिन अवस्था अझै कायम रहेको भन्दै मौसममा आएको सुधारलाई डढेलो नियन्त्रणका लागि उपयोग गर्नुपर्ने बताएका छन्।

स्पेनको गृह मन्त्रालयका अनुसार म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी मानिस घरबाहिर निस्कन नसक्ने अवस्थामा छन्। म्याड्रिड क्षेत्रकी प्रमुख इसाबेल डियाज आयुसोले वर्तमान अवस्थालाई इतिहासकै सबैभन्दा भीषण डढेलोमध्ये एक भनेकी छन्।

प्रधानमन्त्री सान्चेजका अनुसार यस वर्ष स्पेनमा हालसम्म १ लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ। यो पछिल्लो दशकको वार्षिक औसतभन्दा पनि बढी हो। फ्रान्समा पनि सन् २०२६ को सुरुदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको बताइएको छ।

युरोपका अन्य क्षेत्रमा पनि डढेलोको संकट फैलिएको छ। इटालीको सिसिलीमा ३५० भन्दा बढी स्थानमा आगलागी भएको छ, जसमा १० वटा ठूला डढेलो रहेका छन्। प्रभावित क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, स्कटल्यान्डको केर्नगर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि जारी डढेलो नियन्त्रणका लागि आपत्कालीन अवस्था घोषणा गरिएको छ।

युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हाजा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति अहिलेसम्मकै उच्च हुन सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार गत वर्ष युरोपमा करिब १० लाख हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरेको थियो। यस वर्ष गर्मी याम चाँडै सुरु भएकाले क्षति अझ बढ्न सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया