काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा अवस्था समीक्षा गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिसकेको सरकारले देशभरको शान्ति सुरक्षाको अवस्थाबारे पनि छलफल गर्ने जनाएको छ।
गृह मन्त्रालयको नेतृत्वमा बस्ने बैठकमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहनेछ। बैठकमा सुनसरी घटनाको पछिल्लो अवस्थासहित समग्र सुरक्षा चुनौती र आवश्यक रणनीतिबारे समीक्षा गरिनेछ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा गएराति एक जनाको मृत्यु भएको थियो। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि विभिन्न स्थानमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन भएको जनाइएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले आज सुरक्षा निकायका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका थिए। छलफलपछि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिले घटनाको सत्यतथ्य छानबिन गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत सरकारलाई पेश गर्नेछ।
तपाईको प्रतिक्रिया